अध्यात्म यो एक संस्कृत शब्द हो। संस्कृत भाषाको व्याकरण अनुसार आत्मन् शब्ददेखि अधि र आत्मन् शब्दका बीचमा समास भएर ‘अध्यात्म’ शब्द बन्दछ। यसको अर्थ आत्मासँग, आत्माको समीपमा यस्तो हुन्छ।
पूर्वीय दर्शनमा अध्यात्मका लागि अत्यन्त गरिमामय स्थान दिइएको छ। अध्यात्मको अर्थ अर्थ्याउने क्रममा वेद, उपनिषद्, ब्रह्मसूत्र, योगसूत्र, साङ्ख्ययोग जस्ता ज्युँदा ग्रन्थहरू जन्मिएका छन्। धर्म र अधर्मको परिभाषा गर्दै मानव जीवनलाई पूर्ण बनाउन अध्यात्मले गहन भूमिका निर्वाह गरेको हुन्छ।
अध्यात्मको वास्तविकता भनेको प्रकृति र जीवन दर्शनलाई मन्थन गरी आफूभित्र विराजमान अनन्तको आनन्दसँग परिचित गराउनु हो।
हुन त सामान्यतया हाम्रा वैदिक संस्कार, सभ्यता र परम्पराहरूलाई अध्यात्मको संज्ञा दिइएको पाइन्छ तर त्यति मात्र पूर्णताको प्रतीक मान्न सकिन्न, किनभने वैदिक सभ्यता अनुसार मानव शरीरसँग सम्बन्धित कर्महरू सुख, दुःख, स्वर्ग नर्क, पाप, पुन्य, धर्म, अर्थ, काम (वासना) यी भन्दा माथि अध्यात्म छ।
जीवनका परिपूर्ति धर्मका अंग भए पनि अध्यात्म भनेको जीवनको पूर्ण श्रृङ्गार हो। जुन श्रृङ्गारको प्राप्तिपछि अन्य श्रृङ्गार गर्ने आशाहरूको निवृति हुन्छ। वेदको विधि र निषेध अनुरूप विविध आशा राखेर गरिने यज्ञ यज्ञादिले धर्मको अर्थलाई पुष्ट्याउँछ भने अध्यात्मले सम्पूर्ण उत्पत्ति र लयभन्दा माथि उठेपछि प्राप्त हुने सत् चित् प्रकाशको दिशा निर्देश गरेको छ।
स्वआनन्दको अर्को नाम अध्यात्म हो, जस्तो कि यो मानव जीवनमा हर्ष, पीडा, सन्तोष, असन्तोष, समस्या अनि समाधान यति मात्र जीवनको गन्तव्य होइन। प्राकृतिक परिस्थितिको सहर्ष स्वीकार नै जीवनको सरस लक्ष्य हो। शरीरको उज्यालोले संसार चलेको हुन्छ भने अध्यात्मको उर्जाले जाग्रत, स्वप्न र सुषुप्ति तिनै अवस्था चलिराखेको छ।
जसरी एक पुष्प फुल्नु उसको जीवनको गन्तव्य हो भने त्यस्मा विराजमान सुगन्ध अध्यात्मको उदाहरण हो। त्यस्तै गरी मानव मात्रलाई जीवनका सकारात्मक र नकरात्मक अर्थात् धनात्मक र ऋणात्मक ध्रुवहरूसँग सामना गर्न सक्ने प्रतिरोधात्मक ऊर्जाको हुङ्कार आध्यात्मिक सौम्य गर्जनाले गर्दछ।
सामान्यतया: मठ मन्दिर जानु, विविध इच्छा आकांक्षा राखेर आफ्ना इष्टको साधना गर्नुलाई नै वर्तमान समयको धार्मिक र वैज्ञानिक समाजले अध्यात्मको उपमा दिएको पाइन्छ, यो त्यति सार्थक होइन। मन्दिर जानु र नजानुले अध्यात्मको निर्धारण गर्दैन। मन्दिर गएरमात्र मानिसमा आध्यात्मिकताको जन्म हुन्छ भन्नु पनि सार्थक हुँदैन। वास्तविकता त यो छ कि जब मानिसभित्र आध्यात्मिकताको प्रकाश उदाउन थाल्दछ, त्यसलाई नियाल्न मठ मन्दिरजस्ता पवित्र अनि प्रशान्त स्थानहरूको निर्माण गर्ने इच्छा जागेर आउँछ।
आध्यात्मिक हुन कुनै पनि धर्म सम्प्रदाय, आस्तिक, नास्तिक इत्यादिका बन्धनमा बाँधिनु पनि आवश्यक कारण होइन। मात्र प्राकृतिक मनुष्य बने पुग्दछ, अर्थात् जब मानव मात्रमा जीवनका धनात्मक ध्रुव र ऋणात्मक ध्रुवलाई वहन गर्ने क्षमता उत्पन्न हुन्छ, त्यही ऊत्पन्न ऊर्जा नै अध्यात्ममा परिणत हुन्छ। जसबाट मृत्यु र जन्मको अस्तित्वलाई स्वीकार्न सक्ने शाश्वत् पराक्रमको सुत्रपात हुन्छ।
अध्यात्मरूपि प्रकाश उदाएको जीवन सुख, दुःखरूपी सेकतापले प्रभावित हुँदैन। प्रेम हुन्छ, मोह हुँदैन। प्रार्थना हुन्छ, वासना हुँदैन।
आध्यात्मिकताले पुष्टिएको मानव जीवनले समस्या र चुनौती होइन्, उत्सव अनि उमङ्गको रूपमा स्वीकार्दछ। आफूमा गतिमान ऊर्ध्वगामी ऊर्जाको माध्यम बाट आफैँ परमात्मा बन्ने कलाको नाम अध्यात्म हो भने मानवभित्रको मानवता आध्यात्मिकताको झर्रो झरना हो। पूर्वीय दर्शनमा प्रखर रूपमा निखारिएका ज्ञान र योग उत्कृष्ट जीवन जीउने शैलीका सार्थक र व्यवहारिक पक्ष हुन्। ज्ञानले जीवन र जगतको यथार्थ परिचय दिन्छ भने योगले उक्त परिचित यथार्थलाई जीवनमा सहजीकरण बनाई आनन्दित बनाउँछ।
अध्यात्म बिना धर्म, कर्म, सस्कार, सभ्यता सबै रसविहिन छन्। अध्यात्मले ध्यान जन्माउँछ, ध्यानले चैतन्य मनुष्यको जन्म दिन्छ जसमा प्रेम, प्रार्थना, वात्सल्य, दया, क्षमा, करुणा, खुसि र आनन्द बगैँचाका पुष्पहरूमा जस्तै सुगन्धित भइरहेका हुन्छन्। अधिकांश धर्म अध्यात्म सम्प्रदायले जीवनलाई दुःखको कारण मानेका छन्। यो त्यति पूर्ण देखिन्न। उनीहरूले जीवनको एक पक्षलाई मात्र अंङ्गिकार गरेको देखिन्छ। जीवन दुःख हो भने सुख पनि हो समस्या हो भने समाधान पनि हो, किन भने कारण बिना कार्यको सम्भव छैन। अध्यात्म रहित धर्म अनि विज्ञान दुवै अपाङ्ग छन्।